मिक्स यन्ड म्याच हङकङद्वारा बाल अपांग टेवालाई ५० हजार माक्स उपलब्ध

होमल्याण्ड खबर

२०७८ श्रावण १९ गते, मंगलवार १६:३८ मा प्रकाशित

हाल नेपालमा कोभिड–१९ को दोस्रो महामारी फैलिरहेको र तेस्रो लहर उच्चदरमा फैलन सक्ने अनुमान रहेको चिकित्सकहरुले बताउदै आईरहेका छन् । यसै महामारीलाई मध्ये नजर गर्दै हाल हङकङमा रहेका नेपालीले स्थापना गरेको मिक्स यन्ड म्याच हङकङ नामक संस्थाले बुढानिलकण्ठमा रहेको बाल अपांग टेवा संस्थालाई ५० हजार सहयोग स्वरुप वितरण गरेको छ ।

कर्मथलो हङकङ भएपनि आफ्नो जन्मभूमि दुःखमा पर्दा त्यस दुःखबाट आफूहरू अलग हुन नसकेको र विगतमा पनि सोही बाल अपांग टेवा संस्थालाई आर्थिक सहयोग गरेकाले अहिले उच्चदरमा फैलिरहेको कोरोनाबाट बालबालिकालाई आफुहरुले उपलब्ध गराएको माक्सले केहि मात्रामा सुरक्षित रहने अपेक्षा राखेको संस्थाका अध्यक्ष दीननाथ बगालेले बताए ।

मिक्स यन्ड म्याच हङकङ संस्थाले यस भन्दा अघि भूकम्प पीडित, पर्यटन क्षेत्रमा काम गर्ने पोटरलाई पनि आर्थिक सहयोग गरिसकेको र बाढीपहिरोले अतिजोखिममा, कोरोना महामारीले लकडाउनमा परेर आर्थिक अभावमा परेका परिवार लगायत अन्य विभिन्न सामाजिक उत्तरदायित्वको काम गर्दै आइरहेको छ ।