११ मंसिर २०८१, मंगलवार
सरकारले जुम्लामा २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग पूरा नगरी अपहरण गरेर अनसन तुहाउन लागेको भन्दै जुम्लाका स्थानीयले सरकारी टोलीलाई अस्पताल परिसरमा प्रवेश रोक लगाएका छन् । डा. केसीलाई अपरहण शैलीमा लैजान लागेको भन्दै स्थानीय तथा विद्यार्थीहरुले डा. केसीसम्म पुग्ने सबै बाटोमा मानव साङ्लो बनाएर नाकाबन्दी गरेका छन् ।
सरकारले आज बिहान डा. केसीको जीवनरक्षाका लागि भन्दै हेलिकोप्टर र सरकारी टोली जुम्ला पठाएको थियो । जुम्ला पुगेको टोलीलाई जुम्लाका स्थानीय, अस्पतालका कर्मचारी तथा विद्यार्थीहरु गरेर ५ सयभन्दा बढीले रोकेको बताइएको छ । स्थानीयले डा. केसीको माग पूरा नगरी अपहरण गर्न लागेको भन्दै सरकारी टोलीलाई प्रवेश गर्न नदिएको डा। केसीसँगै रहेका विशद दाहालले बताए । केसीले आफ्नो माग पूरा नभएसम्म जुम्ला नछोड्ने बताएको डा. दाहालले बताए । स्थानीयको अवरोधपछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
यसैबीच डा. गोविन्द केसीले आफूलाई अपहरणको शैलीमा काठमाडौं नलैजान सरकारलाई चेतावनी दिएका छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि सत्याग्रह जारी राखेका केसीले आज आफूलाई सरकारले अपहरण शैलीमा काठमाडौं लैजाने तयारी गरेको बताउँदै आफू कुनै पनि हालतमा माग पूरा नभएसम्म काठमाडौं नजाने बताएका छन् ।
डा. केसीले माग पूरा गरे आफू अनशन तोड्न तयार रहेको बताएका छन् । उनले गुन्डागर्दी शैली नदेखाउन पनि राज्यलाई चेतावनी दिएका छन् । “माग पूरा गर अनशन तोड्छु । यो मेरो पवित्रस्थल हो । चन्दननाथ बाबाको काखमा बसेर मैले सत्याग्रह गरेको छु । जबसम्म माग पूरा हुँदैन म यहीँ जुम्लामा बसेर सत्याग्रह जारी राख्नेछु । मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन । र गुन्डागर्दी चल्दैन । अहिलेको लडाईँ भनेको राज्य माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । र जनताको हकविरुद्ध लागेको छ । त्यसविरुद्धको हो । हामी जनताको हक हितको लागि लडिरहेका छौं । माफिया, डन र अधिनायकवादको हार हुन्छ जनताको जित हुन्छ ।”