अमेरिकी सैन्य टोली पुग्यो अफगानिस्तान

होमल्याण्ड खबर

२०७८ श्रावण ३० गते, शनिबार १८:२७ मा प्रकाशित

तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान पुगेको छ ।

केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् ।

अफगानिस्तानमा सङ्घर्षरत तालिवान लडाकूको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ । देशभरी रहेका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानी तालिबान लडाकूको नियन्त्रणमा रहेको उनीहरुले घोषणा गरेका छन् ।

अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकूले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका हुन । राजधानी कब्जा गर्ने अभियानमा उनिहरु निकै सफल देखिएका छन् ।

विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकूले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुक्रबार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गर्नु भएको थियो । उहाँहरुको छलफलकै आधारमा शनिबार अमेरिकी सैनिक अफगानिस्तान आएको बताइएको छ ।