३० कार्तिक २०८१, शुक्रबार
अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउनको लागि प्रहरी र केसी समर्थकबीच भएको झडपमा गोली प्रहारबाट घाइते भएका प्रहरीको ज्यान गएको छ । प्रहरी चलाएको गोली लागेर प्रहरी जवान कमल उपाध्याय घाइते भएका थिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको अवस्था अहिले तनावग्रस्त छ । अस्पतालमा झडप भएपछि आफु काठमाडौं जान तयार भएको केसीले बताएका छन् । सरकार सेना प्रयोग गरेर हिंसामा उत्रे पछि डा. केसीले यो निर्णय लिएको बताइएको छ ।
सरकारले सेनाको प्रयोग गरी डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको छ । समाचार श्रोतका अनुसार डा. केसीलाई बलजफ्ती काठमाडौं ल्याइएको हो । काठमाडौंं ल्याएपछि डा. केसीलाई सेनाको अस्पताल लैजाने भन्ने कुरा थियो । तर, आलोचना हुनसक्ने कारणले अहिले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । विहिबार विहानै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई शिक्षण अस्पतालमा राख्ने कुरा गरेका थिए ।
प्रहरीको मृत्यु हुने अवस्थामा, सेनाको अस्पताल राखे गलत सन्देश जाने र विरोध बढ्न सक्ने भन्दै शिक्षण अस्पताल लैजाने निधो परिवर्तन गरिएको शिक्षामन्त्रीका सहयोगीहरुले बताएका छन् । प्रहरी प्रशासनले स्थानीयमाथि नै लाठी र गोली प्रहार गरेपछि निकै दुःखी भएका डा. केसी काठमाडौ आउन तयार भएका हुन् । डा. केसीको साथ उनका सहयोहीलाई राख्न अनुरोध गर्दा नमानेको एकजना डा. मात्र भएको जनाइएको छ । उनलाई काठमाडौं ल्याउन सरकारले सेनाको हेलिकोप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पठाएको थियो ।
जुम्लामा २० दिनदेखि आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई सरकारले अन्तत बल प्रयोग गरी काठमाडौं ल्याएसँगै मिश्रित प्रतिक्रिया आउन थालेका छन् । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लास्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेको हेलिकप्टरमा राखेर काठमाडौं लगिएको हो ।
डा. केसीलाई लिएर जुम्लाबाट काठमाडौंका लागि उडेको जानकारी दिदै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले वार्ताको प्रसंग काठमाण्डौंमै हुने बताए । उक्त हेलिकप्टरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महोनबहादुर शाही र आन्तरिक मामिला मन्त्री नरेन्द्र कँडेलसहित शिक्षा मन्त्रालयका सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र प्रहरीको टोली सवार छ ।
सेना स्रोतका अनुसार जुम्लाबाट उडेको हेलिकप्टर २५ मिनेटमा सुर्खेत पुगेर अवतरण गर्ने छ । त्यहाँ रिफ्युलिङ गरेपछि मात्रै काठमाडौंका लागि उड्ने छ । सुर्खेतबाट काठमाडौं आउन हेलिकप्टरलाई घटीमा एक घण्टा पाँच मिनेट लाग्ने बताइएको छ ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच डा. केसीलाई अस्पतालबाट बाहिर निकाल्न लाग्दा स्थानीय महिलाहरुले अवरोध गरेपछि प्रहरीले पुनः लाठी चार्ज गरेको थियो । अस्पताल भित्र र बाहिर प्रहरीले गरेको लाठी चार्जका कारण एक दर्जन मानिस घाइते भएका छन् । लाठी चार्ज पछि जुम्लाको अवस्था पुनः तनाव ग्रस्त बनेको छ । सेनाको ब्यारेक बाहिर अहिले स्थानीयहरु जम्मा भएर नाराबाजी गरिरहेको खबर प्राप्त भएको छ ।