८ मंसिर २०८१, शनिबार
आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । आफूहरुको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीहरुले अव पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।
कम्पनी संचालक समिति र व्यवस्थापनले आफू अनुकूल तर ४ हजारभन्दा बढि कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रिय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव प्रसाद पनेरीले जानकारी दिए । उनले आफूहरुको सो माग सम्बोधन नभए नेपाली टेलिकमको संचालक समिति र व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।