धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई निलम्बन गर्न सांसदहरूको माग

होमल्याण्ड खबर

२०७८ भाद्र ४ गते, शुक्रबार १४:४८ मा प्रकाशित

 प्रतिनिधिसभा अन्तरगतको संसदीय समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिईओ) र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्षलाई निलम्बन गर्न माग उठेको छ ।

शेयरमा इन्साइडर ट्रेडिङमा नियामक निकायकै संलग्नता रहेको भन्दै समितिमा आबद्ध सांसदहरुले सेबोनका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेका सिईओ चन्द्रसिंह साउदमाथि छानबिन हुनुपर्ने माग उठाएका हुन् । शुक्रबार अर्थसमितिमा भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्मासँग उनीहरुले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

सांसद रामकुमारी झाँक्रीले सेबोनका अध्यक्ष ढुंगानामाथि सेबोनकै कर्माचारीहरुले प्रश्न उठाएको भन्दै यसलाई सामान्य रुपमा लिन नहुने र छानबिन हुनुपर्ने कुरा उठाइन् । उनले शेयरको गैरकानुनी किनबेचमा संलग्न जोकोहीलाई तत्कालै निलम्बन गरी छानबिन गर्न माग गरिन् ।

यसैगरी पूर्वअर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेले शेयरमा भएको इन्साइडर ट्रेडिङबारे उच्चस्तरीय समिति बनाएर नै छानबिन हुनुपर्ने बताए । यस्तै सांसद रामबहादुर यादवले आफ्ना मान्छेको नाउँमा शेयर किन्न लगाउनेहरुमाथि छानबिन हुनुपर्ने बताए ।

बुक बिल्डिङ विधिबाट महंगोमा शेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर पहिले नै भित्री रुपमा पहुँचवालाहरुले उठाएको देखिएको छ । सेबोन अध्यक्ष ढुंगानाको छोरी तथा नेप्सेका सिईओ साउँदकी श्रीमती लगायत आफन्तको नाममा सेयर किनिएको भेटिएको छ ।