११ मंसिर २०८१, मंगलवार
झन्डै एक महिनादेखि थुप्रिएको काठमाडौं उपत्यकाको फोहोर उठाउन थालिएको छ ।
उपत्यकाको फोहोर फाल्ने गरिएको नुवाकोटको सिसडोलमा ठाउँ नभएपछि करिब एक महिनादेखि फोहोर उठाउन सकिएको थिएन ।
वर्षाका कारण बाटो बिग्रिएका कारण पनि नियमित फोहोर व्यवस्थापनमा समस्या भइरहेको थियो । अहिले बाटो मर्मतका साथै सिसडोलमा तत्कालका लागि फोहोर व्यवस्थापन गर्ने ठाउँ मिलाइएपछि काठमाडौंमा थुप्रिएका फोहोर उठाउन थालिएको हो ।
फोहोर धेरै भइसकेकाले एकै दिनमा सबै फोहोर उठाउन नसकिए पनि दैनिक रूपमा फोहोर लाने काम भइरहेको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।
उनका अनुसार बाहिरी मुख्य सहरका फोहोर व्यवस्थापन भइसकेको छ भने भित्री केही गल्लीका फोहोर उठाउने क्रम भने जारी छ ।
आ-आफ्ना घरबाट निस्कने फाहोर जथाभावी नफाली संकलन गरेर राख्न आग्रह गर्दै महानगरपालिकाले फोहोर लिन घरघरमै गाडी आउने जनाएको छ।
काठमाडौं उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।