कोरोना बीमाको ‘फ्लप कार्यक्रम’ : १० अर्बको घाटाको व्यापार

होमल्याण्ड खबर

२०७८ भाद्र ८ गते, मंगलवार १२:३८ मा प्रकाशित

असफल साबित बनेको महामारीको कोरोना बीमा कार्यक्रम समाप्त भइसकेको छ । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि सुरु भएको नौलो बीमा कार्यक्रम सुरुवातको पूरापूर एक वर्ष पनि राम्रोसँग नचल्दै अन्ततः आर्थिक वर्षको अन्त्यसँगै फ्लप हुनपुग्यो । तर कार्यक्रम अन्त भएपछि पनि अझै बीमितहरुले कोरोना बीमा बापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । आफ्नो भुक्तानीको दायित्व सरकारले समयमै आवश्यक रकम निकासा नगरिदिँदा ६१ हजार माथि सर्वसाधारण बीमितहरुले सवा ६ अर्ब माथिको भुक्तानी पाउन नसकेका हुन् ।

प्राप्त तथ्याङ्क अनुसार गत आर्थिक वर्षको अन्तसम्ममा अर्थात् कार्यक्रमको समेत अन्तसम्ममा कुल १७ लाख ५८ हजार ३४३ जना कोरोना बीमा कार्यक्रममा सहभागी भएका थिए । सो मध्येबाट १ लाख १४ हजार ६३३ जनाबाट कुल १० अर्ब ९७ करोड ७३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी परेको छ । तर, हालसम्म बीमितहरुले ४ अर्ब ८१ करोड १२ लाखको मात्र भुक्तानी पाउन सकेका छन् । बाँकी ६ अर्ब १६ करोड ६१ लाख रुपैयाँ कोभिड प्रभावित बीमितहरुले अझै पाउन सकेका छैनन् ।