कक्षा १२ को परीक्षा भदौ अन्तिमबाट सञ्चालन गर्ने तयारी

होमल्याण्ड खबर

२०७८ भाद्र १० गते, बिहीबार १४:४१ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा भदौ अन्तिम या असोज पहिलो साताबाट सञ्चालन गर्न सकिने जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विद्यार्थीलाई खोप तीव्ररुपमा प्रदान गरिएकाले भदौ अन्तिम या असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्न सकिने बताए ।

प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइएको पनि उनको भनाइ छ ।

समितिमा उनले भने, ‘अस्ट्राजेनिका खोप विद्यार्थीलाई पनि उपलब्ध गराइएको छ । परीक्षा भदौ अन्तिम साता या असोज पहिलो साताभित्र गर्न सकिन्छ । विद्यार्थीलाई खोप लगाउने अभियानलाई तीव्ररुपमा अघि बढाइएको छ ।’ उनले धेरै परीक्षार्थी भएको स्थानमा होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए ।

समिति सभापति जयपुरी घर्तीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर छिटोभन्दा छिटो परीक्षा संचालन गर्न सरकारलाई निर्देशन दिइन् ।