१० मंसिर २०८१, सोमबार
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ । दुई टोलीबीचको खेल नेपालको घरेलु मैदान काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे सुरु हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र भारतबीचको दोस्रो मेत्रीपूर्ण खेल आइतबार हुनेछ । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन् । ‘भारत धेरै बलियो छ । इतिहास राम्रो छ । दुबै खेल जित्न आवश्यक छ। राष्ट्रिय टिमले खुसी बनाउने हैन गर्व गर्न लायक बनाउन आवश्यक छ,’ बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा अलमुताइरीले भने, ‘हामी बराबरीको लागि खेल्ने छैनौं । हामी जित्नका लागि खेल्छौं ।’
फिफा वरीयतामा भारत १ सय ५ औं स्थानमा रहँदा नेपाल १ सय ६८ औं स्थानमा छ । यस्तै भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि छ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ।
तर, प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध भविष्य हेरेर प्रतिस्पर्धा गर्ने समेत बताए । ‘ईतिहास हैन, भविष्यलाई हेरेर खेल्नेछौं। ईतिहास र वरीयताले असर गर्ने छैन । उनीहरु बलिया छन् तर हामी सच्चा गोर्खाली हौं,’ उनले भने । नेपालले पछिल्लो पटक भारतसँग २०१७ को जुन ६ मा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा भारत २–० ले विजयी भएको थियो । नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो। अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रंगशालामा नेपालले भारतलाई २–१ ले हराएको थियो।
नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको दुबै खेल कठिन हुने बताए । यस्तै भारतका कप्तान सुनिल क्षेत्रीले पनि नेपालसँगको खेल सधै कठिन हुने बताए। ‘हाम्रो लागि खेल सधै कठिन हुन्छ । हामी उत्कृष्ट दिने छौं । हामीलाई निमन्त्रणा गर्नु भएकोमा धेरै धन्यवाद,’ उनले भने ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने तर खेलका लागि टिम तयार रहेको बताए । यसैबीच नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए । नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार एक सय दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको शेर्पाले बताए । दर्शकका लागि अनलाइनबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ ।