४ जेष्ठ २०८३, सोमबार
संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको प्रहरी टोली खटिएको छ । मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो ।


प्रहरीले घटनाको अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । एसपी दाहालले घटनाको विषयमा मिहिन ढंगले अनुसन्धान सुरु गरिएको बताएका छन् ।
मादी नगरपालिका–१, खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको अवस्थामा सोमबार बिहान घरभित्र, नजिकै बाटो र खेतमा शव फेला परेको थियो ।
कान कम सुन्ने र आँखा धमिलो देख्ने बौदमानबाहेक घरका सबैको हत्या भएको हो । उनकी ८४ वर्षीया श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर र उनकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र सात वर्षीया नातिनी गोमाको शव अलग–अलग ठाउँमा भेटिएको थियो ।
तेजबहादुरका छोरा रमेश र नरेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । घटनापछि एकजना काठमाडौं आइपुगेको बताइएको छ । मृत्यु भएकी रन्जना रमेशकी श्रीमती हुन् । नरेशकी श्रीमती झापामा बस्दै आएको बताइएको छ ।
मादी–१ का वडाध्यक्ष खेमनाथ कटुवालले रहस्यमय ढंगले भएको हत्याले गाउँ नै त्रसित बनेको बताए । कार्की परिवार तिजलगत्तै तराईमा जग्गा किन्ने तयारी रहेको भन्ने बुझ्नमा आएको उनले बताए ।