निपाह भाइरस : अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा बस्न मन्त्रालयको निर्देशन

होमल्याण्ड खबर

२०७८ भाद्र ३० गते, बुधबार १५:०५ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका १ सय १८ अस्पताल र स्वास्थ्य संस्थाहरूलाई निपाह भाइरसको परीक्षणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । भारतको केरलामा देखिएको निपाह भाइरस नेपालमा पनि फैलने जोखिम भएको भन्दै मन्त्रालयले परीक्षणको लागि अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चमेराबाट सर्ने यस रोग प्राणघातक रोग मानिसबाट मानिसमा पनि सर्ने जोखिम रहेकाले सबै सचेत हुनेपर्ने बताएका छन् । शरीरको तरल पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सर्तकता अपनाउनुपर्नेमा जोड दिए ।

रगतबाट परीक्षण गरिने यस भाइरस परीक्षण गर्ने किट सबै तिर नभएको प्रवक्ता पौडेलको भनाइ छ । भारतसँग सीमा जोडिएका कारण र संक्रमण फैलाउने चमेरा नेपालमा पनि पाइने भएकाले थप सचेत हुन पनि उनले आग्रह गरे ।
पशुपंक्षीको सम्पर्ककमा धेरै रहने व्यक्तिहरू यसको जोखिमबाट जोगिन बढि सचेत हुनुपर्नेमा डा. पौडेलले जोड दिए । चराले टोकेका वा घाउ लागेका फलफूलहरू नखान र मासुजन्य पदार्थहरू राम्रोसँग पकाएर मात्र खान उहाँले सर्वसाधारणलाई आग्रह गरे ।