१० मंसिर २०८१, सोमबार
अन्तिम चार मिनेटमा दुई गोल गर्दै रियल म्याड्रिडले भ्यालेन्सियाविरुद्ध रोचक पुनरागमन गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल २–१ गोलले विजयी भएको हो ।
खेलको ६६ औँ मिनेटमा ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, ८६ औँ मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए । दुई मिनेटपछि भिनिसियसको क्रसमा बेन्जेमाले गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । यो सिजन बेन्जेमाको यो छैटौँ गोल थियो ।
नयाँ प्रशिक्षक कार्लो एन्चेलोटीको नेतृत्वमा रियल यो सिजन अपराजित रहेको छ । ५ खेलमा १३ अङ्क बटुल्दै रियल अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उता, भ्यालेन्सियाले भने लिगमा सिजनको पहिलो हारको स्वाद चाखेको छ । आइतबार नै भएका अन्य खेलमा भिल्लेरियाल र मायोर्का तथा सेभिया र रियल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै, एस्पानियोल र रियल बेटिसबीचको खेल पनि २–२ को बराबरीमा सकियो । एजेन्सी