९ मंसिर २०८१, आईतवार
तेस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिमले जित हात पारेको छ । इंग्ल्यान्डमा नेपालले इष्ट लन्डन इलाभेनलाई २२३ रनले पराजित गरेको हो ।
३३९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इष्ट लन्डन इलाभेनले ३८.५ ओभरमा सबै विकेटको क्षतिमा ११५ रन मात्रै बनाउन सक्यो । इष्ट लन्डनका कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । इष्ट लन्डनका लागि डरेन इरोनसाइडले ३८ र आकाश राजीले २७ रन बनाए ।
नेपालका लागि शक्ति गौचनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले ९.५ ओभर बलिङ गर्दै ५ ओभर मेडन राखेर माब २३ रन खर्चिदै ४ विकेट लिए । त्यस्तै, ललितनारायण राजवंशी र करण केसीले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३३८ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार शाहले शतकीय पारी खेल्दै १३१ रन बनाए । उनले उत्कृष्ट ब्याटिङ गर्दै ११८ बलमा १९ चौका र ३ छक्का प्रहार गर्दै १३१ रन बनाएका हुन् ।
त्यस्तै, नेपालका लागि शरद भेषावकर शतक बनाउनबाट २ रनले चुके । उनले ८६ बलमा ९८ रन बनाए । उनले ६ छक्का र ६ चौका प्रहार गरेका थिए । त्यस्तै, नेपालका सोमपाल कामीले २९ रन बनाए ।
साउन १३ गते इंग्ल्यान्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । एजेन्सी ।