११ मंसिर २०८१, मंगलवार
बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक मानव अधिकार आयोगमा उजुरी परेको छ। निर्देशक प्रसाईंको अभिव्यक्ति विरुद्ध अभियन्ता जमुना सुवेदी ,अम्बिका कार्की र राज्यलक्षमी श्रेष्ठले मानव अधिकार आयोगमा उजुरी दिएका हुन्।
प्रसाईंको अभिव्यक्तिले आम नेपाली महिलाहरुको मर्यादामाथि प्रहार गरेको भन्दै गाली बेइजती ऐन २०१६ र सार्वजनिक अपराध र सजाय ऐन बमोजिम कारबाहीको माग गर्दै उक्त उजुरी दर्ता गरेका हुन्। उनीहरुले प्रसाईंलाई जेल चलान गर्नुपर्ने माग समेत गरेका छन्।
प्रसाईँले हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्रा ९ वर्षसम्म बस्ने र त्यहाँ उनीको अस्मिता प्रोफेसरहरुले लुट्ने विवादस्पद अभिव्यक्ति दिएका थिए ।
यसअघि नेपाली मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले विज्ञप्ती जारी गरि बिएन्डसी निर्देशक दुर्गा प्रसाईँले तथ्यहिन कुराहरु बोलेको भन्दै कारबाही गर्न सरकार समक्ष माग गरेको थियो ।
साथै बीएन्डसी हस्पिटलमा नेपाल महिला संघ झापाले कालो झण्डा गाडेर प्रसाईँले दिएको अभिव्यक्तिप्रति खेद जनाउदै महिलाले विरोध गरेको थिए । महिला संघले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै प्रसाईँलाई कारबाही गर्न सरकारसँग माग गरेको थियो ।