ईपीएल : पोखरासँग ललितपुर ९ विकेटले पराजित

होमल्याण्ड खबर

२०७८ आश्विन १३ गते, बुधबार १४:१८ मा प्रकाशित

 बजाज पल्सर एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ ।

आज त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा ५५ रन बनाउँदै भेट्टायो । मैदान भिजेका कारण २० ओभरको खेललाई ७ ओभरमा झरिएको थियो । ललितपुरले ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । पोखराका रिचर्ड लेभीले २२ बलमा अविजित ३८ र सहान अरासिगेले ३ बलमा १ रन बनाए । यस्तै ऋत गौतमले १४ बलमा १२ रन बनाए ।

ललितपुरका तर्फबाट अजमतुल्लाह अमरजाईले १ विकेट लिए । ललितपुरको यो दोस्रो पराजय हो भने पोखराले पहिलो जित निकालेको छ । यसअघि पोखराले वर्षाका कारण खेल नभएपछि आइतबार भैरहवासँग १-१ अंक बाँडेको थियो । पोखराको यो जितसँगै ३ अंक भएको छ ।

आज बिहान ९ बजे सुरु हुनुपर्ने खेल मैदान चिसो भएको कारण मध्यान्हदेखि सुरु भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्याट्रियट्सका लागि सन्दुन वीरककोडीले सर्वाधिक १९ रन बनाए ।

त्यस्तै ओसादा फर्नान्डोले १० रन बनाउँदा नारायण जोशीले ११ रन बनाए । पोखरा राइनोजका लागि विक्रम सोबले ३, नन्दन यादवले २ र केस्रिक विलियम्सले १ विकेट लिए ।