दशैंमा च्याङ्ग्राका लागि निजी व्यपारीकै भर, सरकारी संस्थानले खरिद नगर्ने

होमल्याण्ड खबर

२०७८ आश्विन १३ गते, बुधबार १६:२४ मा प्रकाशित

दशै नजिकिदै गर्दा खसी तथा च्याङ्ग्राको आयात गरि बिक्रि गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैंका लागि च्याङ्‍ग्रा बिक्री वितरण नगर्ने भएको छ । दसैंका लागि च्याङ्‍ग्राको विक्री वितरण गर्ने तयारी गरेको कम्पनीले यस बर्ष च्याङ्ग्राको अभाव भएको भन्दै खरिद बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैँमा खसी बोका तथा च्याङ्‍ग्राको बिक्री वितरण गर्दै आएको थियो। यसवर्ष खसी/बोका मात्र बिक्री हुने तर च्याँङग्रा उपलब्ध नहुने कम्पनीका सूचना अधिकारी निर्देशक शर्मिला न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । एक हजार च्याङग्रा ल्याउने निर्णय अनुसार तयारी थालेको भएपनि कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङ्ग्रा ल्याउन नसकिएको तर मु्ुस्ताङमा महँगो भएकोले यसपाली संस्थानले च्याँङग्रा नबेच्ने भएको हो। कम्पनीले गत वर्षको दसैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन । संस्थानलेनै च्याँङग्रा ल्याएर बिक्रि गर्ने हुँदा निजी ब्यवसायीले जथाभावी मुल्य निर्धारण गर्न सकेका थिएनन् तर यस पटक भने च्याँग्राको लागि निजी व्यवसायीसंग नै भर पर्नुपर्ने भएको छ। जसको करण मुल्य अनिन्त्रीत हुँदा चर्को मुल्य तिर्न सर्वसाधरण बाध्य हुने भएका छन्।

मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका भने संस्थानले ल्याएर बिक्रि गर्ने छ। न्यौपानेका अनुसार दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको छ। आवश्यकता अनुसार थप खरिद गर्ने पनि जानकारी दिइन् । संस्थाले ल्याएका खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले दसैँका लागि प्रति किलो खसी तथा बोकामा रु. दश छुट दिदै आएको छ ।