१० मंसिर २०८१, सोमबार
दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपको १३ औँ संस्करण शुक्रबारदेखि माल्दिभ्समा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दै छ। यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने छ। कतारमा दुई साताभन्दा लामो प्रशिक्षणपछि नेपाली टोली सोमबार आयोजक राष्ट्र पुगेको थियो।
माल्दिभ्स साविक विजेता पनि हो। सन् २०१८ मा बंगलादेशमा आयोजित पछिल्लो संस्करणको फाइनलमा माल्दिभ्सले भारतलाई २-१ गोलले हराएको थियो। शुक्रबार हुने उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्। हरेक संस्करणमा उपाधि दावेदार मानिने गरेको नेपालले अहिलेसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । नेपाल फाइनलमा समेत पुग्न सकेको छैन। भारतले सात पटक र माल्दिभ्सले दुई तथा श्रीलंका, अफगानिस्तान, बंगलादेशले एक–एक पटक उपाधि जितेका छन्। नेपाल गत संस्करणसहित हालसम्म ६ पटक सेमिफाइनलसम्म पुगेको छ ।
दक्षिण एसियाली खेलकुद-सागका पछिल्ला दुई संस्करणमा नेपालले फुटबलको स्वर्ण जिते पनि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अपेक्षाकृत नतिजा ल्याउन सकेको छैन। नेपालले अन्तिम पटक अफिसियल सिनियर अन्तर्राष्ट्रिय फुटबल उपाधिका रुपमा सन् २०१६ को सोलिडारिटी कप जितेको थियो।
यसपटकको साफ च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सहभागी हुँदै छन्। पाकिस्तान र भूटान सहभागी छैनन्। अफगानिस्तानले साफबाट अलग भएर अर्कै क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलिरहेको छ। लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। नेपालले ४ अक्टोबरमा श्रीलंका, १० अक्टोबरमा भारत र १३ अक्टोबरमा बंगलादेशसँग खेल्ने छ। फाइनल १६ अक्टोबरमा हुने छ।