११ मंसिर २०८१, मंगलवार
डेढ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन आइतबारदेखि खुल्ने भएको छ । गत आर्थिक वर्षको धेरै काम बाँकी रहेपछि यातायाता व्यवस्था विभागले नयाँ आवेदन गत असारदेखि बन्द गरेको थियो । पुरानो काम सम्पन्न गर्न र नयाँ व्यवस्थापनका लागि एक महिना बन्द गरिएको विभागले जनाएको छ ।
आइतबारबाट भने देशभरका यातायात कार्यालयबाट आवेदन खुला गरिने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिएका छन् । झण्डै दुई लाख ५० हजार लाइेसन्स प्रिन्ट गर्न बाँकी रहँदा परीक्षा पास गरेकाले नौ महिनासम्म कुनुपर्ने बाध्यता थियो । सोही काम सक्नका लागि असार महिनामा नयाँ आवेदन लिइएको थिइएन ।
हाल प्रिन्ट गर्न बाँकी रहेका लाइसेन्सको संख्या घटाइएको प्रवक्ता अर्यालले बताए । आगामी दुई महिनाभित्र बाँकी रहेको काम सकिने बताइएको छ । माग अनुसारको लाइसेन्स खपत गर्न नसक्दा प्रिन्टिङको काम बाँकी रहेको हो । विभागका अनुसार हाल दैनिक ४५ सयदेखि पाँच हजार लाइसेन्सको माग छ तर विभागले दैनिक १५ सय लाइसेन्स पनि प्रिन्ट गर्न सक्दैन ।
माग अनुसारको प्रिन्ट गर्न हाल चारवटा मेसिनबाट दैनिक दुई हजार लाइसेन्स प्रिन्ट भएको विभागले जनाएको छ । बिहान र दिउँसो गरी दैनिक दुई चरणमा प्रिन्ट गर्ने काम भएको छ । सार्वजनिक बिदा तथा शनिबार पनि विभागले प्रिन्ट गरिरहेका र नयाँ थप चारवटा प्रिन्ट मेसिन ल्याएको तीन महिना भइसक्यो तर विभागले सो मेसिन भने सञ्चालनमा ल्याएको छैन । नयाँ मेसिनमा सफ्टवेयरसम्बन्धी काम भइरहेको र सञ्चालनको तयारीमा रहेको जनाइएको छ ।
विभागका अनुसार थप चारवटा नयाँ मेसिनले काम गर्न थालेपछि दैनिक पाँच हजार लाइसेन्स प्रिन्ट हुनेछ । जस अनुसार एक महिनामै एक लाख ५० हजार लाइसेन्स प्रिन्ट हुनेछ । विभागले दुई महिनामा बाँकी रहेका लाइसेन्स सबै प्रिन्ट गरिसक्ने गरी काम गरेको र नसकिए रातिमा पनि प्रिन्टको काम गरिने भएको छ ।
गत वर्ष समयमै टेन्डर नगर्दा यस्तो समस्या झेल्नु परेको विभागले जनाएको छ तर चालू वर्ष भने सात लाख ५० हजार कार्ड टेन्डर गरेकोमा चार लाख स्मार्टकार्ड आइसकेको र चारवटा मेसिन पनि आइसकेका छन् ।