साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

होमल्याण्ड खबर

२०७८ आश्विन १८ गते, सोमबार ११:५५ मा प्रकाशित

माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल राति ९:४५ बजे हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् ।

तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपालले श्रीलंकालाई पनि पराजित गर्न सके, फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ । बंगलादेशसँग पहिलो खेल हारेको श्रीलंका पहिलो जितको खोजिमा छ ।

हेड टु हेडमा श्रीलंका बलियो

साफ च्याम्पियनसिप इतिहासमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म ५ खेल भएको छ । त्यसमध्ये एक खेलमा मात्र नेपाल विजयी छ । नेपालले अन्तिम पटक सन् १९९९ को साफ च्याम्पियनसिपमा श्रीलंकालाई हराएको थियो । श्रीलंकाको पक्षमा ३ जित छ भने १ खेल बराबरीमा टुंगिएको छ । सन् २०१५ को केरला साफमा नेपालले पछिल्लो पटक श्रीलंकाको सामना गरेको थियो ।

सो खेल श्रीलंकाले १–० को जित निकालेको थियो । साफ अन्तर्गत नै सोमबार हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।