संचारकर्मीको श्रम अधिकारको पक्षमा माइतिघरमा ऐक्यवद्धता प्रदर्शन गर्दै पत्रकार महासंघ

होमल्याण्ड खबर

२०७८ आश्विन १९ गते, मंगलवार १२:५१ मा प्रकाशित

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुलाई संचार गृहहरुले कानुन अनुसार दिनुपर्ने सेवा सुविधा नदिएको विरोधमा ऐक्यवद्धता प्रदर्शन गर्ने भएको छ । नेपाल पत्रकार महासंघले बुधवार श्रम अधिकारको पक्षमा बुधवार माइतिघर मण्डलामा दिउँसो ३ बजे ऐक्यवदता प्रदर्शन गर्ने भएको हो ।

‘विभिन्न बाहानामा सञ्चारगृहले श्रमजीवी पत्रकारलाइ निष्काशन गर्ने, दवावपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने, नियमित पारिश्रमिक नदिने र अवकास पछि कानुन अनुसारको सेवा सुविधा नदिने जस्ता कार्य विरुद्ध नेपाल पत्रकार महासंघले पटक पटक सम्बन्धित सञ्चारगृहसंग पत्राचार, संवाद, कानुनी उपचार तथा दवाव दिदै आएको छ ।

महासंघको आग्रह र दबावका बाबजुद केही सञ्चारगृह समस्या समाधानप्रति गम्भीर नबन्दा ति सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएका छन् ‘ महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

श्रमजीवी पत्रकार ऐन कार्यान्व्यन गराइ पत्रकारका समस्या समाधान गर्नेतर्फ राज्य समेत उदासिन देखिएको छ । सञ्चारगृहबाट श्रमजीवी पत्रकारहरुमाथि अन्याय पूर्ण व्यवहार भइरहेको यो अवस्थामा दवावमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ ।

महासंघले सबै किसिमको श्रम अधिकारको पक्षमा सशक्त आन्दोलन गर्ने निर्णय गरेअनुसार बुधबार माइतीघर मण्डलामा दिउँसो ३ बजे सञ्चारकर्मीको श्रम अधिकारको पक्षमा वृहत ऐक्यवद्धता प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ।

ऐक्यवद्धता कार्यक्रममा सहभागिताका लागि आम सञ्चारकर्मी, सञ्चार सम्वद्ध संघसस्थाहरु र श्रम अधिकारका पक्षधरहरुलाइ महासंघले आग्रह गरेको छ ।