कृष्णनगरमा झाडापखालाको प्रकोप, २ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ आश्विन २० गते, बुधबार ११:२७ मा प्रकाशित

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ । झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै विरामी परेका छन् । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको छ । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहरुको चाप छ । अस्पतालमा झाडापखालाका ९० भन्दा बढी व्यक्ति उपचाररत छन् ।

बिरामीको चाप बढेपछि एउटा बेडमा दुई जनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गर्नु परेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिए । बिरामीहरुलाई अस्पतालको आँगनमा खटियामा राखिएको छ । डोरी टाँगेर, त्यसमा स्लाइन पानी झुण्ड्याएर बिरामीहरुलाई दिइएको छ ।

झाडापखालाबाट एउटै गाउँका ६२ जनासम्म बिरामी परेका छन् । बिरामीहरु धेरैजसो बालबालिकाहरु छन् । गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ । झाडापखाला कसरी फैलियो भन्ने थाहा हुन सकेको छैन । तर दूषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान छ । जिल्ला अस्पतालबाट चिकित्सकको विज्ञ टोली शिवराज अस्पताल पठाइएको छ ।