३ जेष्ठ २०८३, आईतवार
मौसममा खराबीसँगै हुम्लाको हिल्सा क्षेत्रमा सातायता भारी हिमपात भइरहेको छ । हिमपातका कारण नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द भएको छ भने सडक तथा सञ्चार सम्पर्क पनि टुटेको छ ।
हिल्सास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) सँग पनि सञ्चार सम्बन्ध टुटेको जिल्ला प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए । दैनिकजसो हिमपात भइरहेकाले सोलार चार्ज नहुँदा प्रहरी सेटले काम नगरेको उनले बताए ।


गत सोमबार नै हिल्सामा झन्डै ३ फिटसम्म हिउँ परेको उनले जनाए । गत बिहीबार हिमपातका कारण लिमीमा अलपत्र परेका स्लोभिनियाका ४ नागरिकसहित ३ स्थानीयलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
हिल्सामा नेपाल टेलिकमको टावर नबनेको कारण पनि सञ्चार सम्पर्क विच्छेद भएको हो । उक्त क्षेत्रमा वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट जडान गरे पनि हिमपातयता सञ्चालनमा छैन । झन्डै ४ हजार मिटरमाथिको उचाइमा रहेको हिल्सामा अहिले सशस्त्र प्रहरीको बीओपीसहित नेपाल प्रहरीको सीमा चौकी पनि छ, हिल्सा नजिकैको करिब ५ हजार मिटर उचाइमा रहेको नाराताल क्षेत्रमा पनि बाक्लो हिउँ जमेपछि सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकाको केन्द्र पुग्ने सबै बाटा पुरिएका छन् ।
एक साताअघि चीनले सहयोग गरेको खाद्यान्न र औषधि बुझ्न सदरमुकामबाट हिल्सा गएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई सहितको टोली पैदलमार्गबाट सिमकोट फर्किरहेको छ । नाम्खा गाउँपालिका–६ लिमीमा पनि भारी हिमपात भएको छ ।