काठमाडौँमा आजदेखि कोरोनाविरुद्ध एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाइँदै

होमल्याण्ड खबर

२०७८ कार्तिक ९ गते, मंगलवार ११:१८ मा प्रकाशित

काठमाडौंमा आजदेखि कोरोनाविरुद्ध एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ ।

काठमाडौँ महानगरपालिकाका ३२ वटै वडा तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा यसअघि पहिलो मात्रा लगाएका १८ वर्षमाथिकालाई दोस्रो मात्र दिन लागिएको हो ।

काठमाडौं महानगरपालिका भित्र नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल महाबौद्ध, परोपकार प्रसूतीगृह अस्पताल थापाथली र निजामती कर्मचारी अस्पतालमा समेत खोप लगाइने व्यवस्था गरिएको छ ।

यी अस्पतालहरुमा आज र भोलि तथा स्थानीय तहका खोप केन्द्रमा आगामी विहीबारसम्म तीन दिन खोप लगाउने व्यवस्था मिलाएैको स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौँमा ८६ हजार व्यक्तिले एष्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका छन् ।

दोस्रो मात्रा लगाउन जाँदा पहिले उपलव्ध गराएको खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्र लिएर जानुपर्ने बताइएको छ ।