३ जेष्ठ २०८३, आईतवार
मुगुको गमगढी बजारमा सोमबार राति लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । पानीको अभावले आगो धेरै घरमा फैलिएको र नियन्त्रणमा लिन कठिन भएको स्थानीय बासिन्दा तथा उद्धारमा खटिएका रोशन जंग शाहीले बताएका छन् ।
अहिले पनि जलेका घरबाट धुवाँ निस्किरहेको छ । राति १२ बजेतिर सुरुभएको आगलागीबाट राराछायानाथ नगरपालिका–१ को तल्लो गमगढी बजारका कम्तीमा २० घरमा पूर्ण क्षति भएको छ । अर्को एउटा घर आगो नफैलियोस् भन्नका लागि भत्काइएको छ ।



‘मानवीय क्षति भएको छैन, तर २० घर सखाप भए’, शाहीले भने, ‘पानी थोपो नहुँदा ठूलो क्षति भयो । माटो–ढुंगाको भरमा आगो निभाउने प्रयास भएको हो ।’ स्थानीय एक घरमा पूजा कोठामा बालिएको दियोबाट आगो फैलिएको अनुमान छ । क्षतिको पूर्ण विवरण आउन समय लाग्ने बताइएको छ ।


