२५ श्रावण २०८३, सोमबार
सरकारले शुरुआतमा लक्षित वर्गलाई मात्र खोप लगाएको थियो । आजदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन शुरू गरेको हो ।
विदेशबाट खरीद गरेको खोप आउन थालेकाले अब १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन शुरू गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। “नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गर्दछौं,” डा. अधिकारीले भने ।


सरकारले आगामी पुसभित्र दुई तिहाई र चैतसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। जसअनुसार, दुई करोड १७ लाखलाई खोप लगाइनेछ। अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशतलाई पहिलो डोज र २६ प्रतिशतलाई दोस्रो डोज प्रदान गरिएको छ।
काठमाडौंमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन विभिन्न स्थानमा नियमित खोप केन्द्र तोकिएको छ।
छाउनीको वीरेन्द्र सैनिक अस्पताल, नक्सालको नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुको बयोधा अस्पताल, गोगंबुको नयाँ बसपार्कस्थित लोत्से भवन र जडीबुडीको जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिने भएको छ। यी सबै खोप केन्द्रबाट भेरोसेल र एस्ट्राजेनिका खोप दिइनेछ ।