नेपाल्स सिङ्गिङ सुपरस्टारको डिजिटल अडिसन पुषको पहिलो साताबाट, विजेताले २५ लाख नगद पाउने

होमल्याण्ड खबर

२०७८ मंसिर ७ गते, मंगलवार १४:५९ मा प्रकाशित

भ्वाइस स्टार नेपालले गायन प्रतिभा पहिचान गर्न ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ नामक रियालिटी शो निर्माण गर्ने भएको छ । उक्त रियालिटि सोको डिजिटल अडिसन पुषको पहिलो साताबाट खुल्ला हुने भएको छ ।

इमेज टिभी एचडीबाट प्रसारण हुने शोका लागि इमेज टिभी एचडी र भ्वाइस स्टार नेपालबीच सम्झौता भएको छ । इमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायब महाप्रबन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवी श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

निर्देशक रवीले रियालिटी शोमा संगीतिक क्षेत्रमा संघर्षरत गायकगायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने बताए । उनका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । पुषको पहिलो साताबाट खुल्ला हुने डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृंखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेतको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ । भोटका लागि सजिलो पे भोटिङ पार्टनर बनेको छ । शोको निर्णायकहरु पक्का भइसकेका छन् । तर, प्रचारको लागि ‘गेस द जजेज’ क्याम्पिन हुनेछ । उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउनेछन् ।