काठमाडौंको नयाँ बानेश्वरमा तीन दिने ‘ढाका प्रदर्शनी’ हुँदै

होमल्याण्ड खबर

२०७८ मंसिर १३ गते, सोमबार १४:२८ मा प्रकाशित

ढाकाका कपडाको प्रबद्र्धन गर्नलाई यही पुसमा तीन दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले पुस २, ३ र ४ गते ढाका प्रदर्शनी आयोजना हुने बताएका छन ।

उनले नेपाल ह्याण्डुलम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुन लागेको जानकारी दिए । पुस २ गते ह्याण्डुलम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलन छ र त्यही दिनदेखि प्रदर्शनी सुरु हुनेछ । नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जानकारी दिए । त्यसमध्ये पछिल्लो समय पाल्पाली ढाका कपडाको बजार खस्किएको र त्यसलाई फेरी माथि उकास्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

नयाँ बानेश्वर (थापागाउँ) को बानेश्वर ब्याङ्क्वेटमा चल्ने प्रदर्शनीमा ४० वटा स्टल राखिनेछ । जसमा २५ वटा स्टल ढाकाका कपडालाई छुट्याइएको छ भने बाँकी १५ वटा स्टल हेम (भाङ) र अल्लोका कपडालाई छुट्याइएको छ ।