न्यायाधीश कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन बारको आग्रह

होमल्याण्ड खबर

२०७८ मंसिर १६ गते, बिहीबार १३:५८ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भई हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेकाले उनी काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ ९६० अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुले बिहीबार न्यायाधीशहरुसँग छलफलका क्रममा संवैधानिक भूमिका क्रियाशील बनाउन वरिष्ठतम न्यायाधीश कार्कीलाई आग्रह गरेका हुन् ।

छलफलपछि बारले गरेको विरोध सभामा बोल्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पनि कायम मुकायम प्रधानन्यायाधीशको भूमिकामा सक्रिय हुन नचाहने हो भने वरिष्ठतम न्यायाधीशलाई पनि शंकाको दृष्टिले हेर्ने चेतावनी दिए ।