नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत

होमल्याण्ड खबर

२०७८ मंसिर १७ गते, शुक्रबार १५:४७ मा प्रकाशित

नेपालसँग श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत भएको छ। काठमाडौंमा शुक्रबार भएको नेपाल-कतार संयुक्त समितिको चौंथो बैठकमा सन् २००५मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ।

साथै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ। नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न पनि सहमति जनाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि उक्त विषयमा निर्णय गर्न दुईपक्षीय संयुक्त समिति गंठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति भएको छ। यसअघि, कतारको उच्चस्तरीय टोलीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहित मन्त्रालयको टोलीसँग श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गरेको थियो ।

घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि मन्त्री श्रेष्ठले विभिन्न सरोकारवलाहरुसँग छलफल गरी निर्णयमा पुग्ने बताएका थिए । मन्त्री श्रेष्ठले श्रमिकको सुरक्षा र हितलाई केन्द्रमा राखेर प्रक्रिया अघि बढाइने बताए ।

कतारले घरेलु श्रमिकलाई लैजान जोड दिएपछि यसलाई सही ढंगले सम्बोधन गर्न मन्त्री श्रेष्ठले सरोकारवलाहरुसँग पनि छलफल गरेको थियो । यसअघि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु श्रमिक लैजाने देशले ७ वटा शर्त पूरा गरे मात्रै अनुमति दिन सरकारलाई निर्देशन दिएको थियो ।

कतारको उच्चस्तरीय टोलीले नेपालको शर्त पूरा गर्न तयार रहेको प्रतिकृया दिएको छ। साथै श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका बिषयमा छलफल भएको थियो।