लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ९ घाइते

होमल्याण्ड खबर

२०७८ मंसिर २३ गते, बिहीबार १४:२५ मा प्रकाशित

लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-२ मा दुर्घटना भएको हो ।

गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जपि दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिएका छन।

‘शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए। त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको छ,’ सीडीओ वैद्यले भने, ‘९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।’

घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए। घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए।

जिपमा १६ जना सवार थिए। मर्स्याङ्दी गाउँपालिका वडानम्बर ८ भुस्मे भन्ने ठाउँमा जीप पल्टिएको हो। मर्स्याङ्दी गाउँपालिका(८ को खुँदी सिमपानी भन्ने ठाउँबाट भुस्मेतर्फ जाँदै जिप पल्टिएको र उनीहरू पिकनिक खानका लागि हिँडेको जानकारीमा आएको लमजुङका डीएसपी कृष्ण कार्कीले जानकारी दिएका छन।