होमल्याण्ड खबर
२०७८ पुष १ गते, बिहीबार १६:४८ मा प्रकाशित
मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्ना नागरिकका लागि उपचारमा ५० प्रतिशतसम्मको विशेष छुट प्याकेज सार्वजनिक गरेको छ । अस्पतालले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख एवं अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पतालमा बिमा सेवा बन्द भएकाले आफ्ना नगरवासीका लागि उपचारमा ५० प्रतिशतसम्म छुटको प्याकेज ल्याएको बताएका हुन् ।
“बिमाको रकम नदिए पछि बन्द भएको बिमा सेवाका कारण नगरवासीलाई समस्या परेको हामीले महसुस गरेका छौँ, त्यसैले मध्यपुर थिमिका बासिन्दालाई टिकटदेखि उपचारसम्म बिशेष छुटको प्याकेज ल्याएका हौँ,” उनले भने “मध्यपुरथिमिकावासीहरु ८० वर्ष नाघेकाहरुलाई ५० प्रतिशत, ७० वर्ष नाघेकाहरुलाई २५ प्रतिशत र त्यसभन्दा तल उमेरकालाई स्वास्थ्य सेवामा १० प्रतिशत छुट दिने निर्णय गरेका छौँ ।”
टिकटमा समेत छुट दिने व्यबस्था गरेको भन्दै उनले विगतमा विरामीले नयाँ टिकट लिन ४०० रुपैयाँ लाग्नेमा त्यसलाई घटाएर पुस १ गतेदेखि १२५ रुपैयाँ कायम गरेको र पुरानो कार्ड भएकालाई ७५ रुपैयाँ मात्रै शुल्क निर्धारण गरेको बताए ।
स्वास्थ्य विमा बोर्डबाट ९ करोडको भुक्तानी लिन बाँकी भएपछि अस्पतालले गत असोज २९ गतेबाट बिमा सेवा बन्द गरेको थियो । बिमा बोर्डमा पटक पटक ताकेता गर्दा बल्ल तीन करोड रुपैयाँ निकासा भए पनि अस्पतालले अझै रु। ६ करोड पाउनु पर्ने रकम नपाउँदा बिमा सेवा पुनः सूचारु गर्न सकेको छैन । अस्पतलले पुनः स्वास्थ्य विमा सेवा सूचारु नगरेसम्म आज घोषणा गरिएको बिशेष छुट प्याकेजलाई यथावत राख्ने भएको छ ।
अस्पतालले विशेष छुृट प्याकेज आज (पुस १ )देखि नै लागू गरेको छ ।