रौतहट प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

होमल्याण्ड खबर

२०७८ पुष ५ गते, सोमबार १४:१४ मा प्रकाशित

रौतहटमा प्रहरीले दोषी टिपर धनीलाई बचाउन खोजेको भन्दै विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । यसलगतै , प्रहरीले प्रदशैनमकारीहरुमाथि अश्रु ग्याँस प्रहार गरेको छ ।

गएराति टिपरको ठक्करबाट नेकपा एमालेका स्थानीय नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको भन्दै स्थानीयवासी आकरुोसित भएका हुन् ।

प्रहरी निरीक्षक विश्वकर्माले टिपर धनी र चालकलाई जोगाउन हतार हतारमा घटनालगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पीडित परिवारले आरोप लगाएक छन् । यद्यपी प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्रभावमा नपरेको जिकीर गरेका छन् ।

पीडित परिवारसँगै सयौंको संख्यामा स्थानीयहरुले सोमबार बिहानैदेखि विजयपुरमा प्रदर्शन गर्दै बिहान ११ प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका थिए । यस क्रममा २ जना प्रहरी घाइते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।