९ बैशाख २०८२, मंगलवार
राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू कप्तान नभएपनि राष्ट्रका लागि क्रिकेट खेल्ने बताएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेको बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सधैँभर कप्तान बन्नुपर्छ भन्ने मान्यतामा नराखेकोर आफू कप्तान हुँदा वा नहुँदा पनि राष्ट्रका लागि खेल्ने बताएका हुन् ।
‘म सधैँभरि कप्तान बन्नुपर्छ भनेर आएको होइन र हुनुपर्छ भन्ने पनि होइन । म पहिला पनि खेलिरहेको थिएँ र अहिले पनि खेल्छु । देशका लागि खेल्छु, मेरो लागि खेल्छु, परिवारको लागि खेल्छु । त्यो नै मुख्य उद्देश्य हो’ ज्ञानेन्द्रले भने । नेपाल क्रिकेट संघ (क्यान) संग विवादित विषयमा सहमति भएपछि पूर्वकप्तान ज्ञानेन्द्रसहित ९ खेलाडी मंगलबार बन्द प्रशिक्षणमा उपस्थित भएका हुन् ।
निवर्तमान कप्तान मल्लले आफूहरु प्रशिक्षणमा आइसकेकाले विवादका विषयलाई बाहिर राखेर मिलेर खेल्ने बताए । ‘अब सबै कुराहरु बाहिर राखेर नेपाली क्रिकेटको लागि र भविष्यका लागि हामी सबै एक ठाउँ बसेर अघि बढ्नुपर्छ । महत्वपूर्ण प्रतियोगिता आएको छ । त्यसका लागि भए पनि एकजुट हुनुपर्छ’ उनले भने ।
क्यानले सन् २०२२ को पहिलो ६ महिनाका लागि गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएका तत्कालिन तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई क्यानले सेन्ट्र्ल कन्ट्र्याक्टबाट हटाएको थियो ।