आजबाट उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

होमल्याण्ड खबर

२०७८ पुष २५ गते, आईतवार १६:१८ मा प्रकाशित

आइतबारबाट सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिन आजबाट सुरु गरिएको हो ।

भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले जानकारी दिए । त्यसैगरी , काठमाडौंमा भने पुस २७ गते (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । स्थानीय पालिकाहरुसँग समन्वय गरी काठमाडौं जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २ लाख ७० हजार बालबालिकालाई खोप दिइने काफ्लेले जानकारी दिए ।

त्यस्तै, ललितपुरमा पनि मंगलबारबाट नै बालबालिका लागि फाइजर खोप दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइनेछ । खोप शाखाका जनस्वास्थ्य अधिकृत भण्डारीकाअनुसार एक साताभित्र उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइसक्ने योजना छ ।

सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेको थियो ।