उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा सम्मेलनमा पनि रोक

होमल्याण्ड खबर

२०७८ पुष २७ गते, मंगलवार १६:४३ मा प्रकाशित

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न पनि लगाइएको छ ।

राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाइएको छ ।

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताएका छन् ।

यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।