नेपाल यू–१९ टोलीलाई भारतमा एकदिवसीय सिरिज खेल्ने निमन्त्रण

होमल्याण्ड खबर

२०७५ श्रावण २२ गते, मंगलवार १४:३५ मा प्रकाशित

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यू–१९ एकदिवसीय सिरिजका लागि नेपाली टिमलाई बोलाइएको छ ।
कोलकातामा हुने तय भएको प्रतियोगितामा भारत र अफगानिस्तानको यू–१९ टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को टोली पनि छ । प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म हुने बताइएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन बीसीसीआईले आग्रह गरेको नेपालका यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए । ‘बीसीसीआईबाट प्रतियोगिताका लागि भनेर निम्तो आएको छ । हामी के गर्ने भन्ने छलफलमा छौं’ उनले भने, ‘धेरै समयदेखि टोली प्रशिक्षणमा छैन, यसैले छोटो समयमा कसरी सबै कुरा मिलाउने भनेर कुरा हुँदैछ । एक र दुई दिनमा सबै कुरा प्रष्ट हुन्छ ।’
यू–१९ का केही सदस्य राष्ट्रिय टोलीमा पनि छन् र हालै मात्र नेदरल्याण्ड्स टुरबाट फर्किएका छन् ।
लगतै एसिया कपको छनोटका लागि बन्द प्रशिक्षण सुरु हुनेछ । त्यसैले राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई यू(१९ मा नराख्ने सोच बनाएको र खेलाडी छनोट के आधारमा गर्ने भन्ने छलफल भइरहेको प्रशिक्षक दासले बताए ।
नेपालले प्रतियोगितामा सहभागी हुनेबारे छलफल गरिरहेको भए पनि प्रतियोगिताको सबै तालिका तय भइसकेको छ । चार टोलीले एक अर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो स्थानका लागि खेल्ने छन् ।

यस्तो छ तालिका

सेप्टेम्बर १२ – इडेन गार्डेन्समा भारतविरुद्ध अफगानिस्तान
सेप्टेम्बर १२ – जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध नेपाल
सेप्टेम्बर १४ – इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल
सेप्टेम्बर १४ – जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध अफगानिस्तान
सेप्टेम्बर १६ – इडेन गार्डेन्समा भारतविरुद्ध एनसीए
सेप्टेम्बर १६ – जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपाल
सेप्टेम्बर १८ – इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टिमबीच फाइनल
सेप्टेम्बर १८ – जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टिमबीच प्ले अफ
भारतीय क्रिकेट बोर्डले हरेक वर्ष युवा क्रिकेटरको क्षमता विकासका लागि यस्तो प्रतियोगिता आयोजना गर्ने गर्छ । यसपटकको सिरिजलाई यू–१९ एसिया कपको तयारीको रुपमा लिएको छ ।
आगामी अक्टोबरमा बंगलादेशमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल, भारत, हङकङ, बंगलादेश, पाकिस्तान, श्रीलंका, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्दै छन् ।