अख्तियार प्रमुख र प्रधानन्यायाधीश देउवा सिँगापुरबाट फर्केएपछि छानिने

होमल्याण्ड खबर

२०७५ श्रावण २३ गते, बुधबार १५:०७ मा प्रकाशित

नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक आगामी साता मात्रै बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जान लागेकाले परिषद् बैठकको मिति पर सरेको हो । बैठक बुधबारका लागि तय भएको थियो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले परिषद् बैठक अर्को साता मात्रै बस्ने जानकारी दिए ।
राष्ट्रियसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री ढकालले भने, “प्रतिपक्ष दलका नेता उपचारका लागि सात दिनका लागि बाहिर जाने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको हो ।”
नेपाली कांग्रेसका सभापति देउवा स्वदेश फर्केपछि मात्रै अब परिषद् बैठक बस्नेछ । मन्त्री ढकालले भने, “केही संवैधानिक निकायका प्रमुख नभए पनि कायममुकायमले काम गरिरहनुभएको छ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाइसक्नुभएको छ, प्रतिपक्ष दलको नेता स्वास्थ्योपचारका लागि विदेश जाने हुनाले सात दिन प्रतीक्षा गर्नुपर्नेभएको छ ।”
मन्त्री ढकालले मौलिक हकसँग सम्बन्धित विषयका विधेयक संसद्मा आउने क्रम आरम्भ भइसकेको जानकारी दिँदै भने, “चार विधेयक दर्ता भइसकेका छन्, क्रमशः दिनानुदिन प्रक्रियामा लगेर आगामी असोज ३ गतेसम्ममा मौलिक हकसँग सम्बन्धित कानून निर्माण भइसक्छ ।”
उनले तोकिएको समयभित्रै मौलिक हकसम्बन्धी कानून बन्छन् कि बन्दैनन् भन्ने आशंका नगर्न आग्रह गरे । “हामी युद्धस्तरमा नै मौलिक हकसम्बन्धी कानून निर्माणमा जुटेका छौँ, तोकिएको अवधिभित्रै सम्पन्न गर्छौं । त्यसमा सबैको साथ र सहकार्य जरुरी हुन्छ ।”
यसअघि कांग्रेसले संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानन्यायाधीशका उम्मेदवारमाथि राजनीतिक पूर्वाग्रहको आधारमा हटाउने कार्यको अन्तर्रा्ष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संसदको चुनावअघि देखि नै कम्युनिष्ट अधिनायकवाद र सर्वसत्तावाद हावी हुनसक्ने बताउँदै आएको कांग्रेसले अहिलेको न्यायालयलाई पार्टीको छायामुनि राखेको आरोप पनि लगाएको छ ।
संसदमा दुईतिहाइ रहेको दम्भको आधारमा नेकपाले राजनीतिक निर्णयले न्यायालयमाथि हस्तक्षेप गरेको कांग्रेसको निष्कर्ष छ ।मंगलबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पार्टी बैठकले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित प्रधानमन्त्री ओलीले दुराशयपूर्ण तवरबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गरेको कारण प्रधानन्यायाधिश नियुक्तिको प्रक्रिया दुर्घटनामा परेको निष्कर्ष निकालेको हो।