२ जेष्ठ २०८३, शनिबार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न निर्देशन दिएका छन् । विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुगेका उनले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराएका छन् । मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पारेका हुन् ।


‘फाष्ट ट्रयाक’को विधि अपनाएर भएपनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।