पाइपमार्फत हरेक घरको भान्छामा ग्यास पुग्ने

होमल्याण्ड खबर

२०७४ कार्तिक १९ गते, आईतवार ०३:२८ मा प्रकाशित

 नेपालमा संचालनमा रहेको एनएल ग्यासको मेजोरिटी शेयर किनेर जापानको साइसान कम्पनीले पाइपमार्फत ग्यास पुर्याउने योजना बनाएको हो।साइसानने बारामा रहेको एनएल ग्यासको ५१ प्रतिशत शेयर किनेको छ।शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा ग्यास उद्योगमा जापानी लगानी भित्रिएको औपचारिक घोषणा गरिएको हो।एनएल ग्यासको नेपाली साझेदारमा कृष्णकुमार श्रेष्ठ(किसान),कालु गुरुङ र रामेश्वर थापा छन्।

कम्पनीका अध्यक्ष कृष्णकुमार श्रेष्ठले हरेक घरको भान्छामा पुग्ने ग्यास सुरक्षित हुनुपर्ने बताउँदै सुरक्षाका हिसाबले जापानी प्रविधि विश्वमै सर्वोत्कृष्ट रहेकोले लगानी भित्र्याएको बताए।‘खाना पकाउने ग्यासमा ६७ वर्षभन्दा बढी काम गरेको साइसान कम्पनीसँग साझेदारीले नेपालको ग्यास क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरेका छौं’उनले भने।

६७ वर्षअघि स्थापना भएको यो कम्पनीले चीन,मंगोलिया र भियतनाममा समेत लगानी गरेको छ।कम्पनीले एसिया प्रशान्त क्षेत्रमा लगानी केन्द्रित गर्ने क्रममा नेपालमा लगानी गरेको हो।यो कम्पनीले पाइपलाइनमार्फत ग्यास बिक्री र ग्यासका विभिन्न इक्विपमेन्ट समेत बिक्री गर्छ।

 केपी ओली प्रधानमन्त्री भएको बेला घरको भित्तामा ग्यासको पाइप र चुल्होमा पाइप पुर्यातउने घोषणा गरेका थिए। उनले पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै भनेका थिए, ‘अब ग्यासका सिलिण्डरमा काँधमा बोकेर, केमा बोकेर,  मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर हिँड्नु पर्दैन।’ ‘सिलिण्डरको फेद समाप्त गरिदिन्छु। घरमा चुलो, चुलोमा पाइप पुर्याइदिन्छु। पिटिक्क खोल्दाखेरि सिलिण्डरबाट आउँछ नि ग्यास, अब पाइपबाट आउँछ।’

भारतको अघोषित नाकाबन्दी भएका बेला प्रधानमन्त्री ओलीले गरेको यही भाषण अन्तर्राष्ट्रिय संचारमाध्यममा समेत छाए।यो समाचारपछि जापानको यो कम्पनी पनि नेपालमा लगानी गर्न हौसिएको हो।कम्पनीले पाइपलाइनमार्फत ग्यास पुर्याउने वाहेक कम्पोजिट सिलिण्डर उत्पादनदेखि व्यवसायिक क्षेत्रका लागि पचास किलो तौल भएको सिलिण्डर उत्पादन गर्ने जनाएको छ।‘साइसनको अन्तर्राष्ट्रिय विभागका सिइओ सातोकी कोइकेले अपार्टमेन्ट र ठूला होटलमा भण्डारण स्थल निर्माण गरेर हरेक किचेनमा पाइपलाइनमार्फत ग्यास पुर्याउने योजनामा छौं,उनले भने,ग्यास बोक्ने मोबाइल भ्यानले त्यो भण्डारण रहेको स्थानमा ग्यास भरिदिन्छ।‘