विश्वभर ७ करोड ३० लाख सक्रिय सङ्क्रमित

होमल्याण्ड खबर

२०७८ माघ १८ गते, मंगलवार १०:२३ मा प्रकाशित

विश्वभर ७ करोड ३० लाख कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार संसारभर ७ करोड ३० लाख ४४ हजार ७०४ जना सक्रिय सङ्क्रमित छन् ।

जसमध्ये ९३ हजार ३५२ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ। अहिलेसम्म ३७ करोड ७२ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ करोड ८५ लाख निको भएका छन्। ५६ लाख ८९ हजारको भने मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख नयाँ सङ्क्रमित थपिँदा १९ लाखले कोरोना जितेका छन्। ६ हजारको भने मृत्यु भएको छ ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

सोमबार थप ८ जनाले ज्यान गुमाएका छन्। नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ ।