३ क्यासिनो सन्चालकले बुझाएनन् ४६ करोड बक्यौता, रकम दाखिला गर्न सातदिने म्याद

होमल्याण्ड खबर

२०७८ माघ १९ गते, बुधबार ११:१९ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले तीन कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण वापतको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको छ ।

क्यासिनो सन्चालक ह्याप्पी आवर, रक इन्टरनेशनल र सेन्ट्रल मिडिया प्रालिलाई सात दिनभित्र बाँकी बक्यौता रकम बुझाउन विभागले भनेको हो । विभागका अनुसार ह्याप्पी आवरले २१ करोड ५५ लाख रुपैयाँ, रक इन्टरनेशनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी छ । यो रकम आर्थिक वर्ष २०७६÷०७७ सम्मको हो ।

यी कम्पनीहरुलाई यसअघि २०७८ कात्तिक ७ गते ३५ दिने सूचना जारी गरी बक्यौता बुझाउन भनिएको थियो । त्यसपछि फेरि पुस २७ गते पत्र पठाएर १५ दिने म्याद दिइएको थियो । हालसम्म पनि बक्यौता रकम दाखिला नगरेपछि विभागले आज सार्वजनिक सूचना जारी गरी सात दिनको म्याद दिएको हो । सात दिनभित्र पनि बक्यौता रकम दाखिला नगरे कानून बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।