आज विश्व क्यान्सर दिवस ! विभिन्न कार्यक्रम गरी मनाइदैँ

होमल्याण्ड खबर

२०७८ माघ २१ गते, शुक्रबार १०:२६ मा प्रकाशित

आज विश्व क्यान्सर दिवस । ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौँ’भन्ने नाराका साथ मनाइँदै छ । क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउन लागेका हुन ।

नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले बताएको छ । बर्सेनि १९ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ । वातावरण र खानपानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका बिरामी बढ्दै गएका चिकित्सकको भनाइ छ। धूम्रपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाव दिएका छन् ।

त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ । विश्वको तथ्यांक हेर्दा हरेक वर्ष करिब २ करोड क्यान्सर रोगी थपिने गरेका छन् । खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।