ब्राजिलका चर्चित फुटबलर पेले अस्पतालबाट डिस्चार्ज

होमल्याण्ड खबर

२०७८ फाल्गुन १७ गते, मंगलवार ११:४१ मा प्रकाशित

ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् ।

पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।

८१ वर्षीय पेले उपचारका लागि गएको फेब्रुअरी १३ तारिखमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए । पेलेको गएको वर्ष सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो ।

पेले आफ्नो फुटबल जीवनमा ब्राजिलका ९२ खेलमा ७७ गोलकर्ता तथा चार वटा विश्व कपमा गोल गर्ने चार खेलाडीमध्येका एक हुन् । रुस(युक्रेन युद्धलाई लिएर पेलेले शुक्रवार ट्वीट गरी शान्ति, स्वतन्त्रता र प्रेमको विजयका लागि आफूले प्रार्थना गरेको उल्लेख गरेका छन् ।