१ जेष्ठ २०८३, शुक्रबार
धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका १९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
कमला नगरपालिका ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५,६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको बताइएको छ ।


उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले बताए ।