पक्राउ पर्दै हलेसीका लागुऔषध व्यवसायीहरु

होमल्याण्ड खबर

२०७८ फाल्गुन २६ गते, बिहीबार १४:१६ मा प्रकाशित

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई सोमबार ३२ किलो ४८५ ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकै पर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर ठूलो मात्रामा लागुऔषध गाँजा लुकाएर राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध बेचबिखन तथा कारोबार महल अन्तर्गत जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । उनीहरु दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

गत भदौ– ५ गते १५ केजी गाजाँसहित सोही नगरपालिका–७ महादेविस्थानस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले उनको घरैबाट पक्राउ गरेको थियो । राईले प्रतिबन्धित लागुऔषध गाँजा बिक्री गर्न घरमा लुकाएर राखेको स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेर मुद्दा चलाएको छ ।

यस्तै गत चैत–४ गते सोही नगरपालिकाको वडा नं ७ राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । प्रहरीले दिएको जानकारीअनुसार गाँजा कारोबारमा संलग्न रहेका राई हाल फरार रहेका र उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेर उनको खोजी जारी रहेको जनाइएको छ ।

हलेसी क्षेत्रका स्थानीय बासिन्दाले अवैध रुपमा गर्दै आएका अवैध गाँजा खेती नष्ट गर्न तथा बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रहरी कार्यालयले अभियान नै सञ्चालन गर्दै आएको छ । विगत वर्षदेखि नै सञ्चालन गर्दै आएको अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले यस वर्षमात्रै करोडौँ मूल्य पर्ने गाँजा खेती नष्ट गरेको जनाइएको छ ।