१ जेष्ठ २०८३, शुक्रबार
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । चार सरकारी निकायले ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले ‘कालोसूचीमा राख्न नपर्ने आधार पेश गर्न’ भनेको हो । यसअघि ३० दिने सूचना जारी गरिए पनि अटेरी गरेपछि पुनः सात दिने अल्टिमेटम दिइएको छ ।
कालोसूचीमा सिफारिस भएका कम्पनीमा अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौँ र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखा रहेका छन् । सुर्खेतको चौकुने गाउँपालिकाले अमनलाई, सडक डिभिजन दाङले अभिषेक निर्माण सेवालाई र सडक पूर्वाधार विकास कार्यालय पाल्पाले श्रेष्ठ निर्माण सेवालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका हुन् ।


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी काम कारबाहीमा सहभागी हुन नपाउने गरी निश्चित समयका लागि कालोसूचीमा राख्नेछ ।