९ मंसिर २०८१, आईतवार
त्रिदेशीय टी २० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १५ रनले पराजित गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न भएको खेलमा नेपालले १६८ रनमै पीएनजीलाई समेटेको हो । टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै नौ विकेट गुमाएर १८३ रन बनाएको थियो । पीएनजीलाई पराजित गर्न नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिए । यस्तै, अभिनाश बोहराले २ विकेट लिएका थिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।
ब्याटिङतर्फ ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो बलमै छक्का प्रहार गर्दै नेपाललाई आक्रमक सुरुवात दिलाएका थिए । उनले ११ बल खेल्दै ३ चौका र एक छक्का मद्दतमा २० रन बनाए । त्यस्तै, अर्का ओपनर आसिफ शेख र रोहित कुमार पौडेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे । १२ औँ ओभरमा आसिफ आउट भए । उनले ३५ बल खेल्दै ५ चौका र एक छक्का प्रहार गर्दै ४३ रन बनाए ।
यसैगरी, रोहितले २६ बल खेल्दै २ चौका र एक छक्का मद्दतमा ३४ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ४, कुशल मल्ल ११ र लोकेश बम ५ रनमा आउट भएका थिए । १६ औँ ओभरमा करण केसीले ७ बलमा १४ रन बनाएर आउट भए । १९ औँ ओभरमा सोमपाल कामी १ रन बनाएर आउट भए । अन्तिम ओभरको पाँचौ बलमा आरिफ शेख ३२ रन बनाएर आउट भए । उनले २२ बल खेल्दै ३ चौका र २ छक्का हानेका थिए ।