कंगोमा नेपाली शान्ति सैनिकमाथि विद्रोहीको आक्रमण, एक जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ चैत्र २३ गते, बुधबार १०:२२ मा प्रकाशित

प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो । राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।

महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।