भन्सार छलेर ल्याएको सामानसहित दुई जना पक्राउ

होमल्याण्ड खबर

२०७८ चैत्र २९ गते, मंगलवार १२:२१ मा प्रकाशित

नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाण्डौ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाण्डौ महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

अग्रवालले काठमाण्डौ महानगरपालिका–२४ असनमा सञ्चालन गर्दै आएको हनुमान ट्रेड कन्सर्न पसलको गोदामबाट कपडा फेला पारेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।